• Charikot, Dolakha, Nepal

  • Telephone : +977-49 421240

  • Pan : 301892311

माथिल्लो तामाकोसीको शेयर आह्वान सच्याउन नागरिक समाजको माग

Jun, 28 2018

जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले चासो देखाई सक्रियता बढाउन थालेको छ । यस अघि जिल्लामा पुर्ननिर्माणका लागि निर्माण सामग्रीको अभाव भएको र बजार भाउँमा भएको अत्याधिक मुल्य वृद्धि प्रति चासो देखाएको नागरिक समाजले माथिल्लो तामाकोशी जलबिद्यूत आयोजनाको शेयर प्रतिकूल समयमा आव्हान गरिएको भन्दै स्थगित जिल्लाका नागरिक अगुवाहरुले माग गरेका छन् । 

नागरिक समाजका अगुवाहरुले माथिल्लो तामाकोशी हाईड्रो पावर लिमिटेडले प्रतिकूल अवस्थामा शेयर आव्हान गर्दा बहुसँख्यक दोलखावासी छुट्ने सम्भावना रहेको भन्दै तत्कालका लागि स्थगित गर्न माग गरेका हुन् । आर्थिक वर्षको अन्तिम समयमा वैंक तथा वित्तिय संस्थाको क्लोजिङको समय भएको र बर्षातका कारण  वर्षा, बाढि पहिरो र खेतीको मुख्य मौसममा शेयर आव्हान हुँदा स्थानीयको सहज पहुँच नहुने भन्दै नागरिक अगुवाहरुको यस्तो माग गरेका हुन । 

माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धनक कम्पनी अपर तामाकोशी हाईड्रो पावर लिटिमेडले मंगलबार सुचना जारी गर्दै माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासिका लागि एक अर्व पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर आह्वान गरेको थियो ।

नागरिक समाज दोलखा, जनहित नागरिक समाज र नेपाल नागरिक समाजका प्रतिनिधि, नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुुराडेक) नेपाल इन्सेक प्रतिनिधि सहित जिल्ला स्थित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । नागरिक समाजको तर्फबाट बुझाईएको ज्ञापन पत्रमा  शेयर निश्कासनको प्रक्रिया तत्कालका लागि स्थगित गर्न र केहि समय पछि पुनः आव्हान गरी सवै दोलखावासीको लगानी सुनिश्चित हुने वातावरण तयार पार्न आग्रह गरिएको छ । 

ज्ञापत पत्रमा असार २४ देखि साउन ९ गतेसम्मको छोटो अवधिमा सबै नागरिकले शेयर लगानी सुनिश्चित गर्न नसक्ने भएकाले यसबारेमा पुर्नविचार गर्नुपर्ने, आर्थिक वर्षको अन्तिम समय, वर्षायाम र बाढी पहिरोको जोखिमका कारण कतिपय बस्तीका नागरिकहरुको सहर बजारसम्म सहज पँहुच हुन नसक्ने तथा किसानहरु खेतिपातीमा व्यस्त रहने बेला सेयर आह्वान गर्नुले अधिकांश नागरिक शेयर खरिदबाट वञ्चित हुने अवस्था पैदा भएकाले आफुहरु ज्ञापन पत्र बुझाउन बाध्य भएको जनहित नागरिक समाज दोलखाका अध्यक्ष लक्ष्मण खड्काले बताउँनु भयो । 

ज्ञापन पत्रमा उल्लेख गरिएको छ । वैंक तथा वित्तिय संस्थाको ‘क्लोजिङ’ को समय, पुननिर्माणको चापले नागरिकको खल्ति रित्तिएको अवस्था र खेतिपातीको चापको बेला शेयर आह्वान गर्नुलाई षड्यन्त्र र गलत नियतको रुपमा हेर्न सकिने ज्ञापन–पत्रमा उल्लेख छ ।

नागरिक समाजका अगुवाहरुले वर्षायाम सकिएपछि मात्रै शेयर निश्काषन गर्न र शेयर आह्वान गर्दा आवेदन दिने समय कम्तिमा एक महिनाको हुनुपर्ने माग गरेका छन् । यस्तै, जिल्लाका सबै स्थानीय सरकारका वडा तहसम्म वैंक तथा वित्तिय संस्थासँग साझेदारी गरि सोही मार्फत सरल र सहज ढंगले सेयर आवेदन फारम भर्ने व्यवस्था मिलाएर मात्रै शेयर निश्काषन गर्न आग्रह गरिएको छ । ज्ञापन–पत्रमा वैदेशिक रोजगारीमा रहेका दोलखाबासीहरुलाई अनलाईनबाटै सहज आवेदन भर्ने व्यवस्था मिलाउनुका साथै जिल्लाबाहिर रहेका दोलखाबासिले पनि सोही स्थानबाट सेयर भर्ने व्यवस्था मिलाउनु पर्ने, शेयर आह्वान गर्नु पूर्व शेयर आवेदन भर्ने विधि र प्रक्रियाका बारेमा आमसञ्चार माध्यमहरु मार्फत सर्वसाधारणलाई जानकरी गराउनुपर्ने उल्लेख छ ।

 

ज्ञापन–पत्रमा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, जनहित नागरिक समाज दोलखाका अध्यक्ष लक्ष्मण खड्का, नेपाल नागरिक समाजका केन्द्रीय सदस्य दिपशंकर चौँलागाई, नागरिक समाज दोलखाका कृष्ण बस्नेत, नेपाल पत्रकार महासँघ दोलखाका अध्यक्ष जिवन लामा, हुराडेक नेपालका अध्यक्ष होम पाठक र ईन्सेक प्रतिनिधि उद्धवप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।